धरानमा खानेपानीको बिल तिर्न अब धेरै समय लाइन बस्न पर्ने बाध्यता हटने भएको छ । रु एक सयको पानीको बिल तिर्न १५० रुपैया टेम्पो भाडा तिर्न पर्ने बाध्यताबाट धरानेले अब मुक्ती पाउने भएका छन । खानेपानी व्यवस्थापन बोर्डले दियालो टेक्नोलोजी प्रालिसँग सहकार्य गरेर मोवाइलबाटै महशुल तिर्ने सिस्टम लागु गर्न सफ्टवेयर तयार गरेको छ । यो सिस्टम एक साताभित्रमा शुरु हुनेछ । आज (शुक्रबार)देखि धरान १६ स्थित विल काउन्टरमा कम्प्युटर सिस्टमबाट विलिङको शुरुवात गरिएको छ । मेयर हर्क साम्पाङले विलिङ कम्प्युटर सिस्टम र मिटर रिडिङको शुक्रबार औपचारिक शुरुवात गरेका छन । मेयर साम्पाङले ग्राहक उपभोक्ताहरुलाई राहत दिलाउन खानेपानी बोर्डको कामलाई पनि प्रविधियुक्त बनाइने बताए ।अब पानीको बिल इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै पानीको महशुल तिर्न सकिने खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए । अर्को शुक्रबारसम्म अनलाइन वा मोवाइलबाटै उपभोक्ताहरुले विल तिर्नसक्ने पनि उनले बताए । चाडै वडा १५ र १७ बाट पनि शुरुवात हुने उनले बताए ।