भारतको रक्सौल देखी काठमाण्डौ सम्मको रेलमार्गको रुट तय भएको छ । २०७६ सालमा यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययन भएको रेल मार्गको १२ वटा स्टेशन रहने गरी रुट तय भएको हो । नेपाल–भारत अन्तरदेशीय काठमाडौं–रक्सौल रेलमार्गको रुट भारतीय पक्षले रेलमार्गको अध्ययन गरेर नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा रुट समावेश भएको छ । रेल विभागका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर अनिलकुमार चित्रकारका अनुसार फाइनल प्रतिवेदन अनुसार उक्त रेलमार्गको रुट रक्सौलबाट काठमाडौंसम्म तय भएको छ ।उहाँका अनुसार रक्सौलदेखि पर्साको वीरगञ्ज, बेलुवा, बाराको मनहर्वा, सपही बजार, निजगढ, मकवानपुरको धियाल, शिखरपुर, सिस्नेरी हुँदै रेलमार्ग काठमाडौंको सतिखेल भएर खोकनासम्म ल्याउन प्रस्ताव गरिएको छ । प्रारम्भिक चरणमा १३६ किलोमिटर लामो रेलमार्ग निर्माण हुने अनुमान गरिएकोमा अहिले अन्तिम प्रतिवेदनमा १४० किलोमिटर लामो हुने भएको छ ।