धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीचको बिबाद मिलेकोछ । मेयर साम्पाङको स्वकीय सचिवले वडा कार्यालयमा पठाएको पत्रको विवादले गत चैत १ गते कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो । त्यसयता मेयर साम्पाङले बोलाएको बैठकहरु वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले पटक पटक बहिष्कार गर्दै आन्दोलन गर्दै आएका थिए । बैठक बहिस्कार गर्दै आए यता मेयर साम्पाङ र उनका समर्थकहरुले सामाजिक सञ्जालमा वडाअध्यक्षहरुविरुद्ध गालीगलौज गर्दै आक्रमण गर्ने गरेका थिए । वडाध्यक्षहरु मात्र हैन साम्पाङ बिरुद्द राजनीतिक दलका कार्यकर्ताहरु पनि असन्तुस्ट रहदै बिज्ञप्ती जारी गरेका थिए ।
सचेत धराने समुहको पहलमा आज कार्यपालिका बैठक कक्षमा करिब ३ घण्टा भएको छलफलले विवाद अन्त्य गर्दै मेयर र वडाध्यक्षहरु वीच मा अब नयाँढंगले अघि बढ्ने सहमति भएको वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारमले जानकारी दिए । इवारमका अनुसार सहमती भए संगै आइतबार दिउँसो २ बजेको लागि कार्यपालिका बैठक बोलाइएको छ । बैठक को लागी उपमहानगरपालिकाबाट वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई पत्रचार समेटा भैसकेको छ । आजको बिशेष छलफल बैठकमा मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं १८ का अध्यक्ष राई, वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १४ का अध्यक्ष कृष्ण भट्टराई, वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराई, वडा २ का अध्यक्ष रमेश राई र सचेत धराने समुहका टिमको सहभागीता थियो ।