नेपाल पत्रकार महासंघ सुनसरीले धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) लाई ध्यानाकर्षण पत्र बुझाएकोछ । साम्पाङले पत्रकारलाई अमर्यादित र असोभनीय शब्द प्रयोग गरेर गाली गरेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न र पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । साम्पाङले पत्रकारलाई विभिन्न राजनैतिक दलहरूको झोले भन्दै सामाजिक सञ्जालमा अमर्यादित र असोभनीय शब्द प्रयोग गरी गाली गर्दै धम्की दिएपछि पत्रकार महासंघ सुनसरीले त्यस्ता गतिविधि बन्द गर्न उनलाई अनुरोध गरेको छ ।
मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष केशव घिमिरे, स्थानीय ब्लाष्ट टाइम्स दैनिक र कपुरी डटकम अनलाइनलाई अमर्यादित शब्द प्रयोग गर्दै धम्की दिएका थिए । त्यसपछि पत्रकार महासंघ सुनसरीको टोलीले आइतबार मेयर राईलाई कार्यकक्षमै भेटेर अबदेखि त्यस्ता हर्कत नदेखाउन र पत्रकारलाई अमर्यादित शब्द प्रयोग गरी धम्की नदिन तीन दिनभित्र आफ्नो धारणा सार्वजनिक गर्न माग गरेको छ । ध्यानाकर्षण बुझ्दै मेयर साम्पाङले महासंघ दिएको समय सिमा भन्दा एकदिन अगाडीनै अथवा दुई दिन भित्रनै आफ्नो धारणा र स्पष्टिकरण दुइदिन भित्रनै सार्वजनिक गर्ने प्रतिबद्दता जनाएका छन । उनले आफुले गरेको राम्रा कामलाई पनि प्राथमिकता दिन आग्रह गरे ।