१५ बर्षको उमेरमा जबरजस्ती करणी गरेर अश्लील भिडियो बनाइ ६ बर्षदेखी बलात्कार गर्दै आएको आरोपमा मोरङका एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर–६ का ३० बर्सिया मो. रिजवान अन्सारी रहेका छन । उनले लामोसमयदेखी अश्लील भिडियो बनाएर ब्लाकमेल गर्दै बलात्कार गर्ने गरेको तथ्य बाहिरिएकोछ । दुहवी नगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौं बस्दै आएकी किशोरीको अश्लील भिडियो बनाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले अन्सारीलाई बिराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका अन्सारी विराटनगरमा चस्मा पसल गर्दै आएकाछन । अन्सारीले किशोरीलाई २०७४ सालबाट बलात्कारको भिडियो बनाएपछि उक्त भिडियो सामाजिक संजालमा सार्वजनिक गर्ने डर त्रास देखाउँदै बलात्कार गर्दै आएको आरोप छ ।
जबरजस्ती करणी गरेपछि पीडितको भिडियो बनाएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘ त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास र ब्लाकमेलिङ गर्दै ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । बलात्कारको शिकारमा परेकी ती किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ बसी गर्भपतन गराएको समेत खुलेको छ । अन्सारी बिरुद्द जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरिने दाहालले बताएका छन ।