नेपालको कुल जनसंख्या ३ करोड भनिदै आएकोमा तीन करोड भने पुगेकोछैन । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको १२ औँ जनगणना–२०७८ को अन्तिम र विस्तृत प्रतिवेदन अनुसार नेपालको जनसंख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत महिला रहेका छन् । १२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झण्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए ।
कुल जनसङ्ख्यामा अन्य लिङ्गी २ हजार ९ सय २८ जना रहेका छन् । यसअघि २०७८ माघ १२ मा तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले (अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालय) ले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको थियो । विस्तृत र अन्तिम प्रतिवेदनमा २७ हजार ९ सय २ कम जनसङ्ख्या देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई मानिएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाण्डौ रहेको छ ।