बाग्लुङ जिल्लाको एक सुन्दर गाउँ गलकोटको दैनिक रहनसहन, रितिरिवाज र व्यवहारिक शैलीलाई मुख्य विषय बनाएर निर्माण गरिएको टेलिसिरियल ‘चुल्हो–चौको’ को पहिलो भाग प्रशारण भएको छ । इन्टर मिडिया र सुरसिनेमाको संयुक्त प्रस्तुतिमा निर्माण भएको सामाजिक–परिवारिक सिरियल ‘चुल्हो–चौको’ इन्टर मिडियाको अफिसियल युट्युव च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक भएको छ। नेपाली समाजको यथार्थ जीवनलाई केन्द्रमा राखेर तयार पारिएको यस सिरियलले घरभित्रका संघर्ष, पारिवारिक सम्बन्धका उतार–चढाव, सामाजिक मूल्य र संस्कारलाई कथावस्तु बनाएको निर्माण पक्षले जनाएको छ। निर्माण पक्षले ‘चुल्हो–चौको’ केवल मनोरञ्जनका लागि मात्र नभई समाजलाई ऐनाजस्तै देखाउँदै सकारात्मक सन्देश दिन सक्ने सिरियल हुने विश्वास व्यक्त गरेको छ।

निर्माण टिमका अनुसार पछिल्लो समय कमजोर बन्दै गएका पारिवारिक सम्बन्ध, समाजभित्र लुकेका पीडा तथा नबोलेका आवाजलाई पर्दामा उतार्नु सिरियलको मुख्य उद्देश्य हो। साथै, नयाँ पुस्तालाई संस्कृति, जिम्मेवारी र मानवीय मूल्यप्रति सचेत गराउने प्रयास यसमा गरिएको छ। सिरियलको कथा तथा निर्देशन सुदर्शन चापागाईंले गरेका छन्। कथालेखनमा प्रयास बोहोरा, दिनेश शर्मा र कञ्चन परियार संलग्न छन्।

गीत–संगीततर्फ शब्द र स्वर सुदर्शन चापागाईं र प्रदीप ढकालको रहेको छ भने संगीत प्रदीप ढकालकै रहेको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विशम आचार्यले गरेका हुन् ।सिरियलमा सुदर्शन चापागाईं, दिनेश शर्मा, कञ्चन परियार, अर्जुन रुचाल,बिबेक तामङ, गणेश सापकोटा, रोशन बी।के।, रिद्धिमा परियार, रुना विश्वकर्मा, कीर्ति बुढाथोकी, सलिना श्रेष्ठ, राम खत्री, तारा पुन घर्ती, सौभाग्य घर्ती र पुनम पुनलगायत कलाकारको अभिनय रहनेछ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।