वर्ष २०८२ को सफल चलचित्रहरुको लिष्टमा नाम लेखाउन सफल चलचित्र चलचित्र ऊनको स्वीटरुले देशभरका करिब ४० वटा सिनेमा हलहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । देशका विभिन्न ४० सिनेमाहलहरु मध्ये धरान स्थित फ्रेण्डस सिनेमाजमा पनि प्रदर्शनको ५१ औ दिनको अवसरमा केक काटेर ५१ औ दिन मनाइएको छ । कार्यम्रममा चलचित्रका कलाकार प्रेम सुब्बा, चर्चित गीत काफलेका लेखक युवराज काफलेको उपस्थिती रहेको थियो । चलचित्रले दर्शकहरूको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हो ।
विशेष गरी, नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र सुमधुर सङ्गीतका कारण ुऊनको स्वीटरु दर्शकहरूमाझ लोकप्रिय बनेको छ । यसका निर्देशक नवीन चौहानले सफलताप्रति खुसी व्यक्त गर्दै दर्शक र शुभचिन्तकहरूप्रति आभार प्रकट गरे । उनले यस चलचित्रले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको बताए । चौहानले नै यस चलचित्रको स्क्रिप्ट लेखेका हुन् भने आर्टमान्डूले निर्माण गरेको हो ।
विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । यसका गीत निर्देशक सुजन चापागाईँ हुन् भने सङ्गीत निर्देशक कोविद बज्र हुन् ।ुऊनको स्वीटरुले ग्रामीण तथा सहरी दुवै क्षेत्रका दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । हल सञ्चालकहरूका अनुसार, यो चलचित्र हेर्न परिवारसहित आउने दर्शकहरूको सङ्ख्या उल्लेख्य रहेको छ । चलचित्रले मिडिया समीक्षक तथा स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ, जसले गर्दा यसको चर्चा अझ बढेको छ ।