पूर्वी नेपालको हृदय स्थल पाँचथर–इलाम सीमावर्ती राँकेको एक साँघुरो बाटो मुनि चिटिक्क बसेको फूलले भरिएको सानो घरले हिजोआज सामाजिक सञ्जाल तताएको छ । चलचित्र ‘ऊनको स्वीटर’मा देखिएको यो घरले प्रेमको प्रतिज्ञालाई मात्र होइन, सिनेमा निर्माणको प्रक्रियामा सत्यता र संवेदनालाई पनि उजागर गरेको छ ।
घर निर्माणको कल्पना त्यही चलचित्रको अन्त्यले खिचेको थियो, जहाँ धरणीधर काफ्लेले फूलसँग वाचा गर्छन्, ‘मलाई एकान्त ठाउँमा, फूलै फूलको बगैँचामा एउटा घर बनाउन मन छ । बगैँचाको बीचमा चिटिक्क परेको सानो घर। त्यही घरमा म तिमीलाई पर्खिरहनेछु ।’
साधरणतया एक रोपनी जमिनले नै घर बनाउन पुग्थ्यो, तर उपलब्ध जग्गाको अभाव र ‘चलाखी नगर्ने’ प्रतिज्ञाले निर्माता आर्टमाण्डू १० रोपनी जग्गा किन्न बाध्य भयो ।
करिब १० लाख रुपैयाँ खर्चिएर तयार भएको घरको परम्परागत शैलीमा बनाइएको छ । यसको प्राङ्गणमा रहेका फूलहरूले प्रकृतिसँगको सामञ्जस्य देखाउँछन् । चलचित्रका निर्देशक नवीन चौहान भन्छन्, ुसरलता नै सुन्दरताको स्रोत हो । यो घरले त्यही भावना बोकेर दर्शकको मन जित्यो ।ु यस्तै, छायाङ्कनकै समयमा फालेलुङको खर्कतिर पुगेको टोलीले त्यति बेला स्थानीय किसान मगरे काइँलाको गोठमा एउटा बिरामी याक देख्यो । खासमा याक स्क्रिप्टमा नै थिएन, तर त्यही ठाउँको यथार्थलाई चित्रण नगरे कथा अधूरो हुने ठानेर याक पर्दामा आयो । चलचित्रमा याक बिरामी छ, जहाँ धरणीधरले याकप्रति प्रेम देखाएका छन् ।
मगरे काइँलाले याकको उपचार फिटकीरीको पानीले गर्छन् । सो दृश्यमा दर्शक भावुक हुन्छन् । चलचित्रमा याक बाँचेको छ तर, बाँचेको दृश्य छायाङ्कन गरेकै दिन सो याकले सधैँको लागि धर्तिबाट बिदा लियो ।सोही याकको अमर स्मृति सिनेमा पर्दामा बाँचेको देखाएर निर्माताले जीवनप्रति आशा र संवेदनाको सन्देश प्रवाह गरेका छन । आज त्यो राँके को घर र याकको कथा विरल सौन्दर्य सँगै चलचित्र हेरेका अनगिन्ति मनमा बसेको छ ।