यही फागुन २ गते भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शनमा आउन लागेको दयाहाङ राई र आचल शर्माको मुख्य अभिनय रहेको चलचित्र ‘दुखीआत्मा’ ले पिजी (PG) अर्थात “प्यारेन्टल गाइडेन्स” सर्टिफिकेट पाएकोछ । टिजर गीत र ट्रेलर सम्म रिलिज हुँदा बजारमा एडल्ट चलचित्र भनेर चर्चा पाए पनि सेन्सर बोर्डले ‘दुखीआत्मा’ले PG सर्टिफिकेट पाएको हो । पिजी अर्थात अर्थात् १६ माथिकाले निर्धक्क हेर्न पाइन्छ, १६ मुनिकाले चाहिँ अभिभावकको साथमा बसेरमात्र हेर्न पर्ने भएको छ । चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र लामाले आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै चलचित्रले प्रदर्शनको लागी पिजी सर्टिफिकेट पाएको र अब प्रदर्शनको लागी तयार भएको जानकारी दिएकाछन ।
मंगलबार मात्रै फिल्मको दृश्य र संवादमा कैंची नलगाएर फिल्म सेन्सर पास भएको छ । निर्देशकका अनुसार कुनैपनि दृश्यमा सेन्सरले काँटछाँट गरेन । सेन्सरका सदस्यले समेत फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरेको उनले बताए । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।
फिल्ममा दया र आँचलको अलवा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ । त्यसैले पनि यस चलचित्र पिजी सर्टीफिकेट पाएको अनुमान गर्न सकिन्छ ।