चर्चित निर्देशक मिलन चाम्सद्वारा निर्देशीत महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अन्जिला’ को प्रदर्शन मिती सरेको छ । पोस्टर रिलिज संगै माग ११ गतेको लागी प्रदर्शन मिती तोकेको चलचित्र अब फागुन २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । हाम्रो योजना तोकिएकै मितीमा प्रदर्शन गर्ने थियो तर सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नु परेको निर्देशक चाम्सले जानकारी दिए । छायांकन एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ ।
सिनेमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथामा आधारित छ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ । चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा मुख्ख भूमिका निर्वाह गरेका छन् ।मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।