भोली अर्थात बैशाख २१ गतेबाट प्रतिक्षित चलचित्र ‘मनसरा’ देसभरका सिनेमा हलहरुमा प्रदर्शनमा आउँदैछ । तर गत हप्ता देखी प्रदर्शनमा आएको चलचित्र ‘बोक्सी को घर’ ले हलमा दर्शक तानेको तानेकै छ । अझ भनौ पुर्वका सिनेमा हलहरुमा बोक्सी को घर हेर्न आउने दर्शकहरुको चाप बढेर राती ११ बजेको पनि शो थप्न परेको कुरा धरान फ्रेण्ड्स सिनेमाज का म्यानेजर सन्देश घिमिरे बताउछन । धरानमा मात्र हैन बिर्तामोड स्थित QFX सिनेमामा पनि उस्तै छ ।
आज बोक्सीको घर हेर्न फिल्म हलमा मेला लाग्ने जस्तो देखियो । बिहानै देखि हाउसफुल छ , बिर्तामोड QFX का म्यानेजर केदार बस्नेत को कुरा हो यो । उनले भने बोक्सीको घर यही रफ्तारमा चले ‘मनसरा’ असर पर्ने पक्क छ । बोक्सिको घर रात्रीकालीन शो को पनि उच्च मागआएको हुँदा, राती ९.३० बजेका लागि पनि शो थपिएको बस्नेत बताउछन । यसै गरी बिराटनगरको सेन्ट्रल मल मल्टिप्लेक्स मा पनि अन्य फिल्म भन्दा उच्च शो पाएको छ । यहाँ भोली प्रदर्शनमा आउने फिल्म ‘मनसरा’ लाई जतिकै शो दिइएको छ । फिल्म ‘बोक्सीको घर’ले बम्पर व्यापार गरिरहेको छ । रिलिजको छैटौँ दिनसम्म फिल्मले ५ करोड माथिको ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक भएको छ ।
‘मनसरा’को भव्य प्रिमियर ललितपुरको लाबिम मलमा रहेको क्यूएफएक्स हलमा गरिएको छ ।प्रिमियरमा फिल्मका कलाकार तथा केही फिल्मीकर्मीहरुको उपस्थिति थियो । फिल्म हेर्नका लागि निर्देशकहरू निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, अशोक शर्मा, निर्माता रविन्द्र सिंह बानियाँ, कलाकारहरू खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मलिका महत, कुन्साङ बोमजोम, परीक्षा लिम्बु लगायत पुगेका थिए । फिल्म हेरेपछि निर्देशक निश्चल बस्नेतले मुक्तकण्ठले प्रशंसा गरे ।फिल्मको प्रिमियरमा उपस्थिति अधिकांशले निर्देशक उपेन्द्र सुब्बाको निर्देशकीय क्षमता र नायक प्रवीण खतिवडाको कामको खुलेरै तारिफ गरे । यो फिल्म रिलिज भएपछि प्रवीणले करिअरमा नयाँ फड्को मार्ने धेरैको विश्लेषण छ । फिल्मको निर्माण टिमले बिहीवार बिराटनगर QFX मा पनि प्रिमियर गर्दैछ ।