काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कनका लागी इन्डोर स्टुडियो निर्माणका लागि चलचित्र विकास बोर्डलाई नेपाल सरकारले जग्गा उपलब्ध गराएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०३/२६ मा भएको निर्णय अनुसार काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं. १० र १३ को जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिदै बिधिवत रुपमा आज चलचित्र विकास बोर्डको नाममा जग्गा हस्तान्तरण गरेको छ । सरकारी स्तरबाट नेपालमा पहिलो पटक अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण कार्य प्रारम्भ हुने चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले जानकारी दिए । साथै उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै, चलचित्रक्षेत्रको लागि अत्यन्तै खुशीको साथै गौरवको बिषय हो भनेका छन ।
चलचित्र क्षेत्रको लागि आजको दिन ऐतिहासिक दिनको रूपमा भएको भन्दै अब छिट्टैनै चलचित्र छायांकन स्टुडियो निर्माण कार्य अघि बढने बताए । चलचित्रक्षेत्रको विकासका लागि नेपाल सरकारले लिएको अपनत्व सह्रानीय रहेको बताउदै उनले आगामी दिनमा पनि नेपाल सरकारको चलचित्र क्षेत्रलाई सहयोग र साथ मिल्ने विश्वाश लिएको भन्दै नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन । सरकारले बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि हस्तान्तरण गरेको छ ।