यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘महाजात्रा’ को छायाँकन सकिएकोछ । बुधवार प्रोमोशनल गीत ‘क्या राम्रो’ बोलको गीतको छायाँकन सकिएसङै सम्पूर्ण फिल्मको छायाँकन समाप्त भएको निर्माण टिमले घोषणा गरेकोछ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो’ बोलको गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माको गज्जबको नृत्य रहेकोछ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेकाछन । गीतमा सिनेमाका मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत अनि एकसय बढी कोरसको प्रयोग गरिएको देखिन्छन् । सिनेमाको प्रचारका लागि तयार गरिएको गीत भएकाले सबै कलाकारलाई प्रयोग गरिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । छायाँकनको लागी तय गरेको तालिका अनुसार नै काम सम्पन्न भएको निर्माता म्याक्स दीपेश खत्रीले बताए । खत्रीका अनुसार टिम अब प्रचार प्रसार र रिलिजको तयारीमा लाग्ने छ ।
‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सले तेस्रो शृङखला ‘महाजात्रा’ निर्माण गरेको कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाले जानकारी दिए । ‘महाजात्रा’ ले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तरिकाले प्रस्तुत गर्ने सिंहको दावी छ । सिनेमामार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको अर्थात् सिनेमामा हासो र रोदनको मिश्रण रहेको निर्देशक भट्टराई बताउछन । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बन्नेमा निर्माण टिम ढुक्क छ । सिनेमामा अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ ।
म्याक्स दीपेश खत्रीका अलवा यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । सिनेमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकान, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।