यस बर्षको अन्त्यमा नेपाली चलचित्र बजारमा राम्रो व्यापर गर्ने तयारीका साथ निर्माण सुरु गरिएको ‘महाजात्रा’ आज शुभ मुर्हत संगै छायांकन सुरु गरिएको छ । लगभग ४५ दिनको सेड्युल सहित निर्माण टिमले आज शुभमुर्हत गर्दै छायांकन समेत सुरु गरेको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’को छायांकन बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट सुरु भएको हो । आज मुर्हत सहित कलाकार बिपिन कार्कीको एक दृश्य खिचेर छायांकन सुरु गरिएको हो । सफल चलचित्र ‘जात्रा’को दोस्रो श्रृंखला जात्रै जात्रा र तेस्रो श्रृंखलाको रुपमा ‘महाजात्रा’ निर्माण गरिएको हो । फिल्मको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने निर्देशक तथा पटकथाकार प्रदीप भट्टराईले बताए । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ लाई ‘महाजात्रा’ बटमलाइनको रुपमा राखिएको छ । यो फिल्ममा बहुघटनाको कथावस्तु चित्रण हुने निर्देशक भट्टराईले बताए । ‘एउटा घटनाको जात्रा थियो । दुई टिमको घटनामा जात्रैजात्रा बन्यो । त्यो हिसाबले महाजात्रा धेरै घटनाको कथावस्तु हुने भट्टराईको दावी छ ।
जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने सिनेमाको स्क्रिप्ट डाक्टरको रुपमा मनोज पण्डित छन् । दर्शकको विश्वास जितेर एकपछि अर्को सफलता प्राप्त गर्दै नयाँ रेकर्ड बनाइरहेको ‘जात्रा’ र ‘जात्रै जात्रा’ शृङखलाको आगामी सिनेमा ‘महाजात्रा’ निर्माण अगावै दर्शकमाझ प्रतीक्षित छ । म्याक्स दीपेश खत्रीले निर्माता रहेको ‘महाजात्रा’ कार्यकारी निर्माता रबिन्द्र सिंह बानिया हुन । एसोसियट निर्देशकमा जित बहादुर रुवाली, छायांकनमा पुरुषोत्तम प्रधान, द्धन्द्व निर्देशनमा कुमार महर्जन, नृत्य निर्देशनमा कविराज गहतराज, संगीतमा आशिष अविरल, मेकअपमा शमशेर लामा र प्रोडक्सन डिजाइनरमा रुपकप्रताप अधिकारी र भारत बाहेकको विदेश रिलिज एमएसएम इन्टरटेनमेन्टले गर्ने निर्माण टिमले जनाएको छ । फिल्ममा हरी बंश आचार्य , बिपिन कार्की , बर्षा राउत, रबिन्द्र सिंह बानिया, रबिन्द्र झा,प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ र बालकलाकार अर्बिन खडका रहेकाछन ।