अन्य सिनेमामा भन्दा आफूले ‘ऐंचो पैंचो’मा राम्रो काम गरेको प्रतिक्रिया निर्माण पक्षबाट पाएको नायिका वर्षा राउतले बताएकी छन् । आफ्नो चरित्र सिनेमामा छोटो भए पनि पावरफुल भएको उनको भनाइ छ ।त्यसैले आफूले यो सिनेमामा काम गरेको उनको भनाइ छ । आफ्ना धेरैजसो चलचित्र छोटो र अर्थपूर्ण क्यारेक्टर हुने गरेको उनी बताउँछिन् । सिनेमा टिमवर्क भएको भन्दै सबैले राम्रो काम गरे मात्रै चलचित्र समग्रमा राम्रो हुने वर्षा बताउँछिन् । ‘ऐंचो पैंचो’मा सबै कलाकारको उत्तिकै इफोर्ट रहेकाले राम्रो सिनेमा बनेको उनको दाबी छ ।अभिनेता मुकन भुसालले आफूलाई स्क्रिप्ट राम्रो लागेकाले काम गरेको बताएका छन् । ‘बुलबुल’ पनि स्क्रिप्ट मन परेरै काम गरेको भन्दै उनले भने, ‘बुलबुलमा पनि स्वस्तिमा जी लिड रोलमा हुनुहुन्थ्यो । त्यो सिनेमाबाटै म आएको हुँ । मैले धेरै सिनेमा त गरेको छैन । तर स्क्रिप्ट राम्रो भयो भने काम गर्छु । कुन रोलमा को छ भन्दा पनि समग्रमा सिनेमा राम्रो हुनुपर्छ । त्यो भयो भने सबैलाई राम्रो हुन्छ ।’
सहयोगी भएर काम गर्नु पर्नेमा उनको जोड छ । नेपाली कलाकारमा इगो प्रोब्लम खासै छैन । बजार विस्तारका लागि अझै एकआपसमा मिलेर काम गर्नुपर्नेमा उनको जोड छ । भदौ १४ गतेबाट प्रदर्शन हुने सिनेमा सेन्सर पास पनि भइसकेको छ । सिनेमालाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । सबै उमेर समूहका दर्शकले सिनेमा हेर्न पाउने छन् ।सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।
सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माता रहेका छन् ।