धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेपाली चलचित्र ‘गोर्खा वारियर्स’ हेर्न युके जाने भएका छन । आगामी भदौ २४ गते लण्डनमा आयोजना हुन लागेको चलचित्र ‘गोर्खा वारियर्स’को प्रिमियरमा मेयर हर्क साम्पाङलाई सहभागी गराउनको लागी बिशेष निम्तो दिन निर्माता तथा निर्देशक मिलन चाम्स बुधवार धरान आएका थिए । चाम्सको निम्तो स्विकार्दै मेयर साम्पाङले प्रिमियरमा सहभागीता जनाउने बताएका छन । आफूलाई काममा साथ दिने बेलायतवासी नेपालीलाई भेटेर धन्यवाद दिन चाहेको साम्पाङले बताए ।
उक्त फिल्मलाई बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा रेडकार्पेट प्रिमियर गर्ने तयारी छ । साथै सेप्टेम्बर महिनालाई ‘प्रिमियर मन्थ’को रुपमा मनाउने निर्माताको योजना छ । लण्डनको लिसेस्ट स्क्वायरस्थित उक्त हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको छ । विजय लामासहित फिल्मका कलाकारहरु पनि लण्डन पुग्नेछन् ।